प्रदेश गौरवको आयोजना

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर

उर्लाबारी-३, मोरङ | पूर्वी नेपालको भरपर्दो र उत्कृष्ट स्वास्थ्य सेवा केन्द्र

५० शैया

सुविधासम्पन्न बेड क्षमता

ट्रमा सेन्टर

२४ सै घण्टा आपतकालीन सेवा

विशेषज्ञ सेवा

अनुभवी चिकित्सक टोली

उर्लाबारी-३

पूर्व-पश्चिम राजमार्ग छेउमै

भौगोलिक तथा ऐतिहासिक परिचय

पूर्वी नेपालको भौगोलिक र जलवायु विविधतायुक्त ऐतिहासिक गौरव बोकेको जिल्ला मोरङ हो। महाभारत कालमा विराट राजाको राजधानीको रूपमा रहेको मानिएको मोरङ जिल्लामा प्राचीन कालमा "हाङ" नाम गरेका किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। त्यसवेला यस प्रशासनिक क्षेत्रलाई "मवारङ" भनिन्थ्यो। त्यही मवारङ भन्ने शब्द नै अपभ्रंश भई मोरङ भन्न थालिएको हो भन्ने किम्वदन्ती रहेको छ।

पहाडी क्षेत्र, भावर क्षेत्र तथा तराई क्षेत्र मिलेर बनेको यो जिल्ला नेपालको औद्योगिक एवं व्यापारिक केन्द्रको रूपमा पनि परिचित छ। प्रारम्भमा मोरङ जिल्लाले हालको झापा तथा सुनसरी जिल्लासमेत समेट्थ्यो। वि.सं. २०१८ सालको जिल्ला विभाजन पश्चात हालको जिल्ला कायम हुन गएको हो। जनसङ्ख्याको दृष्टिकोणले नेपालको दोस्रो ठूलो जिल्ला र कोशी प्रदेशको सबैभन्दा ठूलो जिल्ला हो।

  • अवस्थिति: २६° २२' देखि २६° ५३' उत्तरी अक्षांश र ८७° १६' देखि ८७° ४१' पूर्वी देशान्तर (उचाइ: ६० मिटर देखि २४१० मिटरसम्म)।
  • क्षेत्रफल र सिमाना: कुल क्षेत्रफल १८५५ वर्ग कि.मी. (८०% तराई)। पूर्वमा झापा र इलाम, पश्चिममा सुनसरी, उत्तरमा धनकुटा र पाँचथर तथा दक्षिणमा भारतको बिहार।
  • प्रशासनिक विभाजन: १७ वटा स्थानीय तह तथा १५९ वटा वडाहरू।
  • सांस्कृतिक विविधता: राष्ट्रिय जनगणना २०७८ अनुसार १४२ जातजाति मध्ये ११५ जातजाति र १२४ मातृभाषा मध्ये ७९ मातृभाषा बोल्ने व्यक्तिहरूको बसोबास।
  • प्रमुख ऐतिहासिक/पर्यटकीय स्थलहरू: विराट राजाको दरबार, धनपाल गढी, राजारानी पोखरी, सुनवर्षी पोखरी, कानेपोखरी, मिक्लाजुङ डाँडा आदि।

अस्पतालको विकासक्रम र इतिहास

बहु-विविधतायुक्त मोरङ जिल्लाको पूर्वी भागको करिब मध्यतिर उर्लाबारी नगरपालिका वडा नं. ३ मा पूर्व-पश्चिम राजमार्गको छैउमै उत्तरपट्टी "मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर" अवस्थित छ। यस अस्पतालको इतिहास विकासक्रम निम्न अनुसार रहेको छ:

वि.सं. २०४९ चैत्र

प्राथमिक स्वास्थ्य केन्द्र

सीमित जनशक्ति र श्रोत-साधनका बीच आधारभूत प्राथमिक स्वास्थ्य सेवाबाट सेवा प्रारम्भ गरिएको।

आ.व. २०७२/७३

मंगलबारे अस्पताल (१५ बेड)

उर्लाबारी नगरपालिका मातहत १५ शैयाको अस्पतालको रूपमा स्तरोन्नती भई विशेषज्ञ सेवासहित सञ्चालन भएको।

वि.सं. २०७७ श्रावण

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर

तत्कालीन प्रदेश नं. १ सरकारको 'गौरवको आयोजना' रूपमा ५० शैयाको अस्पताल र ट्रमा सेन्टरको रूपमा स्तरोन्नती भई सञ्चालनमा आएको।

गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता

स्वास्थ्य सेवालाई मानव अधिकारको अति महत्वपूर्ण अंगको रूपमा विकास गर्दै लैजान, नेपालको वर्तमान संविधानले स्वास्थ्य सेवा प्राप्त गर्नुलाई जनताको मौलिक हकको रूपमा अंगिकार गरेको छ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को व्यवस्था अनुरूप, यस अस्पतालले दक्ष जनशक्तिमार्फत यस क्षेत्रका सर्वसाधारणलाई स्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।